सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका ८ मा बसोबास गर्दै आएको एक असहाय दलित मिजार परिवारका बालबालिकाका लागि समाजसेवी तथा सर्लाही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोजित केसीले नयाँ घर निर्माण गरिदिएका छन् ।
आमा–बाबुको अभिभावकत्वबाट विमुख बनेका मनिष मिजार, खुसी मिजार, मोनिका मिजार, मन्दीप मिजार र सन्दीप मिजार लामो समयदेखि वृद्ध हजुरआमाको सहारामा कष्टकर जीवन बिताउँदै आएका थिए ।
उनीहरूका बुवा फौजदारी कसुरमा जेलमा रहेका छन् भने आमा दोस्रो विवाह गरेर अन्यत्र गएपछि बालबालिका सहाराविहीन बनेका थिए । गरिबीका कारण चुहिने छानो भएको जीर्ण घरमा बस्न बाध्य उनीहरूको पीडादायी अवस्था देखेपछि समाजसेवी रोजित केसीले घर निर्माण गरिदिएका हुन् ।

निर्माण सम्पन्न घर समाजसेवी शर्मिला थापाको हातबाट बालबालिकालाई हस्तान्तरण गरिएको थियो । नयाँ घर पाएपछि मिजार परिवारले खुसी व्यक्त गर्दै केसी प्रति आभार प्रकट गरेका छन् ।
“हाम्रो लागि उहाँ भगवानजस्तै बन्नुभएको छ । घर निर्माण गरिदिएर ठूलो राहत दिनुभएको छ,” मिजार परिवारले भावुक हुँदै बताएका छन् । घर हस्तान्तरण कार्यक्रममा बोल्दै केसीले बालबालिकाको शिक्षा, पालनपोषण तथा उज्ज्वल भविष्य निर्माणका लागि आफूले आवश्यक सहयोग निरन्तर गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
लामो समय नेपाली राष्ट्रिय फुटबल टोलीमा आबद्ध रहेका पूर्व राष्ट्रिय खेलाडी केसी पछिल्लो समय सामाजिक कार्य र राजनीतिमा सक्रिय छन् । उनी नेपाली कांग्रेस ईश्वरपुर ८ का सभापति समेत हुन् । युवा तथा खेलकुद प्रेमी माझ लोकप्रिय मानिने केसी सामाजिक सेवामा पनि अग्रसर रहँदै आएका छन् ।




