जनकपुरधाम । धनुषाका दुई गाउँपालिकाले संघीय सरकारले लागू गरेको सातामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयन नगर्ने भएका छन् । बटेश्वर गाउँपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिकाले आइतबारको बिदा हटाउँदै पुरानै कार्यतालिका लागू गर्ने निर्णय गरेका हुन् ।
बटेश्वर गाउँपालिकाले बुधबार सूचना जारी गर्दै पालिका मातहतका कार्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय तथा विद्यालयहरू आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा सञ्चालन हुने जनाएको छ । गाउँपालिकाका अनुसार जेठ १७ गतेदेखि अर्को निर्णय नभएसम्म पुरानै समयतालिका लागू हुनेछ ।
गाउँपालिका अध्यक्ष रामआशीष महतोले दुई दिन बिदा हुँदा कामको चाप बढेको, सेवाग्राहीलाई समस्या भएको तथा विद्यालयहरूले समयमा पाठ्यक्रम पूरा गर्न नसकेको गुनासो आएपछि यस्तो निर्णय गरिएको बताए ।
उनका अनुसार प्रशासनिक कामकाज र बजेट खर्च प्रक्रियामा समेत असर देखिएकाले तत्कालका लागि पुरानै व्यवस्था कायम गरिएको हो । यो अभ्यास सुरुमा दुई महिनासम्म लागू गरिने र आवश्यकता अनुसार निरन्तरता दिन सकिने उनले बताए ।
यसअघि मुखियापट्टी मुसहरनिया गाउँपालिकाले पनि संघीय सरकारको निर्णय कार्यान्वयन नगर्ने जनाएको थियो । गाउँपालिका अध्यक्ष जयकुमार यादवका अनुसार दुई दिन बिदा भएपछि कर्मचारी समयमै कार्यालय नआउने, विद्यालयको पढाइ प्रभावित हुने तथा सेवाग्राहीले सास्ती भोग्नुपर्ने अवस्था देखिएको थियो ।
उनले कर्मचारीहरू टाढाबाट आउने भएकाले आइतबार बिदा हुँदा कार्यालय सञ्चालनमा झन् समस्या देखिएको बताए । संघीय सरकारले गत चैत २२ गते मन्त्रिपरिषद् बैठकमार्फत शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।






