रौतहट । रौतहटका प्रमुख व्यापारिक केन्द्रहरूमा विषादी हालेर पकाइएका आँपको खुलेआम बिक्री वितरण भइरहेको छ । सदरमुकाम गौर, गरुडा, कटहरिया र चन्द्रपुर (चन्द्रनिगाहपुर) का मुख्य बजारहरूमा मानव स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिने कार्बाइड (कैल्सियम कार्बाइड) रसायन प्रयोग गरिएका आँप छ्यापछ्याप्ती भेटिएका हुन् ।
नेपालमा प्राकृतिक रूपमा आँप पाक्ने समय असार महिना भएपनि व्यापारीहरूले बढी नाफा कमाउने उद्देश्यले जेठ महिनामै कृत्रिम रूपमा पकाइएका पहेँला आँप बजारमा सजाएर राखेका छन् । स्थानीय उपभोक्ताका अनुसार यस्ता अस्वस्थकर आँप बजारमा प्रति किलो २ सय रुपैयाँदेखि २ सय ४० रुपैयाँसम्ममा उच्च मूल्यमा बिक्री भइरहेको छ ।
बजारमा जनस्वास्थ्यमाथि यसरी गम्भीर खेलबाड भइरहँदा पनि नियमनकारी निकाय भने मौन बसेको चन्द्रपुरका स्थानीय दिपेन्द्र मिश्रको आरोप छ । उपभोक्ताहरूको हकहित संरक्षणका लागि भन्दै गठन गरिएको उपभोक्ता संरक्षण मञ्च र स्थानीय पालिकाका बजार अनुगमन टोलीहरू बजारमा देखिएको यो बेथितिप्रति पूर्ण रूपमा उदासीन बनेका छन् ।
उनी भन्छन्, ‘बजारमा विष जस्तो आँप बिक्री भइरहेको सबैलाई थाहा छ, तर पालिकाको अनुगमन टोली र प्रशासनले ध्यान दिएको छैन । अहिले उपभोक्ताहरू चर्को मूल्य तिरेर बिरामी पार्ने फलफूल किन्न बाध्य छन् ।’ नेपाली बजारमा अझै स्थानीय आँप पाकिसकेका छैनन् । बजारमा उपलब्ध अधिकांश आँप सीमावर्ती भारतीय बजारबाट सस्तो मूल्यमा कच्चा अवस्थामै आयात गरिएका हुन् ।
भारतीय भन्सार नाकाहरूबाट कच्चा आँप भित्र्याएर स्थानीय गोदाम र घुम्ती पसलहरूमा कार्बाइडको प्रयोग गरी एकै रातमा पहेंलो र आकर्षक बनाइने गरेको जानकारहरू बताउँछन् । कृत्रिम रूपमा कार्बाइड हालेर पकाइएको आँप सेवन गर्नु स्वास्थ्यका लागि निकै घातक हुने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
बजारमा मौलाएको यो कालोबजारी र जनस्वास्थ्यमाथिको खेलबाड रोक्न जिल्ला प्रशासन कार्यालय रौतहटले गौर, गरुडा, कटहरिया र चन्द्रपुर नगरपालिकाले संयुक्त रूपमा तत्काल आकस्मिक बजार अनुगमन सुरु गर्नुपर्ने माग उठिरहेको छ ।






