महोत्तरी । अत्यधिक गर्मीका कारण महोत्तरीको गौशाला नगरपालिका १२ स्थित कान्तिबजारको राष्ट्रिय माध्यमिक विद्यालयमा आइतबार १० जना छात्रा बेहोस भएका छन् ।
विद्यालय प्रशासनका अनुसार कक्षा ८, ९ र १० मा अध्ययनरत छात्राहरू गर्मीका कारण अचेत भएका हुन् । बेहोस भएका मध्ये सात जनालाई उपचारका लागि कान्तिबजार स्वास्थ्य चौकी लगिएको थियो ।
स्वास्थ्य चौकीकी सिनियर अहेव निलम कुशवाहाका अनुसार उपचारका लागि ल्याइएका छात्राहरूमा न्यून रक्तचाप, डिहाइड्रेसन, टाउको दुख्ने तथा सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएको थियो ।
उपचारपछि छ जना छात्रालाई घर पठाइएको छ भने एक छात्राको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि गौशाला नगर अस्पतालमा रेफर गरिएको छ ।
अन्य सात जना छात्रालाई विद्यालयमै प्राथमिक उपचार तथा आराम गराएर अभिभावकको जिम्मा लगाइएको विद्यालयले जनाएको छ । घटनापछि विद्यालय प्रशासनले छैटौँ पिरियडपछि पठनपाठन स्थगित गरेको छ ।
विद्यालयका प्रधानाध्यापक रामस्नेही यादवका अनुसार विद्यालय भवन निर्माणाधीन रहेकाले जस्तापाताले छाइएको कक्षाकोठामा पठनपाठन सञ्चालन भइरहेको छ ।
उनले आइतबार करिब ३५ डिग्री सेल्सियस तापक्रम रहेको तथा बिहानैदेखि विद्युत् आपूर्ति अवरुद्ध भएकाले पङ्खा सञ्चालन हुन नसक्दा कक्षा कोठामा अत्यधिक गर्मी महसुस भएको बताए । कक्षा १२ सम्म अध्ययन हुने उक्त विद्यालयमा करिब ८ सय विद्यार्थी अध्ययनरत छन् ।
संघीय सरकारले आइतबार सार्वजनिक बिदा दिएको भएपनि गौशाला नगरपालिकाले स्थानीय व्यवस्थाअनुसार सामुदायिक विद्यालयमा आइतबार बिदा नदिएकाले नियमित रूपमा पठनपाठन सञ्चालन गरिएको थियो ।
स्थानीयवासी तथा अभिभावकहरूले बढ्दो गर्मीलाई ध्यानमा राख्दै विद्यालय सञ्चालन समय व्यवस्थापन गर्न र विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।




