काठमाडौं । पर्सा र सिराहामा प्रहरीले छुट्टाछुट्टै कारबाही गर्दै लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पर्साको जिराभवानी गाउँपालिका ४ स्थित सुपौली चोकबाट प्रहरीले नियन्त्रित लागूऔषध नाइट्राजेपाम २६ ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्सागढी नगरपालिका ७ बागेश्वरी तित्रौना निवासी २४ वर्षीय मन्दिप राउत कुर्मी रहेका छन् । अस्थायी प्रहरी पोस्ट सुपौलीबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध बरामद गरेपछि नियन्त्रणमा लिएको जनाएको छ ।
यस्तै, सिरहा नगरपालिका १५ बुधौलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ६ का १९ वर्षीय सुजल शाह र २३ वर्षीय जयकुमार साह रहेका छन् ।
प्रहरी चौकी खिरौनाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज १० प ७६३७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथबाट ३ ग्राम १४ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ ।
पक्राउ परेका तीनै जनाविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।






