काठमाडौं । बागलुङमा एक पुरुषको हत्या गरेको आरोपमा उनकी श्रीमतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार हत्या आरोपमा श्रीमतीसहित तीन जना पक्राउ परेका हुन् ।
प्रहरीले जैमिनी नगरपालिका १० स्थित हाँडिकोट क्षेत्रमा कार्यरत ६२ वर्षीय देउबहादुर सार्कीको हत्या प्रकरणमा उनकी कान्छी श्रीमती २६ वर्षीया लक्ष्मी नेपालीसहित दुई जनालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्ने अन्य व्यक्तिमा कास्कीको पोखरा महानगरपालिका ६ निवासी ३८ वर्षीय राम आकाश विश्वकर्मा र मादी गाउँपालिका ३ निवासी ५६ वर्षीय आसपुरे कामी रहेका छन् ।
सोमबार दिउँसो हाँडिकोट सामुदायिक वन क्षेत्रभित्र सार्कीको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बरेङडाँडा र कुश्मीसेराबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीका अनुसार मृतकको शव टाउकोमा ढुंगाले प्रहार गरिएको अवस्थामा फेला परेको थियो । घटनापछि शंकास्पद देखिएका तीनै जनालाई स्थानीयवासीको सहयोगमा घटनास्थल आसपासबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्न व्यक्तिहरूले सोमबार बिहान सँगै मदिरा सेवन गरेको र त्यसक्रममा विवाद उत्पन्न भएपछि मृतकमाथि आक्रमण भएको देखिएको प्रहरीले बताएको छ । टाउकोमा ढुंगाले प्रहार गर्दा सार्कीको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । उनीहरूलाई जिल्ला अदालत बागलुङबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।






