रौतहट । रौतहटमा वन संरक्षणका लागि गस्तीमा खटिएको टोलीमाथि तस्कर समूहले आक्रमण गर्दा पाँच जना घाइते भएका छन् । काठ चोरी भइरहेको सूचनाका आधारमा जंगल क्षेत्रमा पुगेको डिभिजन वन कार्यालय र रङ्गपुर साझेदारी वन उपभोक्ता समितिको संयुक्त टोलीमाथि काठ तस्कर समूहले आक्रमण गरेको हो ।
घटना सोमबार राति चन्द्रनिगाहपुर–मैरा सडकखण्डअन्तर्गत पुल नजिकै भएको बताइएको छ । गस्ती गरिरहेको टोलीलाई तस्करहरूले घेरा हालेर कुटपिट गरेका थिए । आक्रमणमा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार चौधरी, वन रक्षक सुरेन्द्र चौधरी, रङ्गपुर साझेदारी वन उपभोक्ता समितिका सदस्य अर्जुन चौधरी र विमल थापा तथा गस्ती गाडीका चालक अरविन्द पटेल घाइते भएका छन् ।
रङ्गपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष अशोक यादवका अनुसार वन क्षेत्रमा काठ चोरी भइरहेको सूचनापछि टोली गस्तीमा गएको थियो । तर जंगलभित्र पुगेपछि तस्कर समूहले संगठित रूपमा उनीहरूमाथि आक्रमण गरेको हो । घटनापछि वन कर्मचारी तथा स्थानीय उपभोक्ता समूहले आक्रमणमा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
प्रहरी र वन कार्यालयले घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य सुरु गरेको जनाएको छ । वन संरक्षणमा खटिएका कर्मचारीमाथि नै आक्रमण भएपछि रौतहटका वन क्षेत्रमा सक्रिय तस्करी सञ्जालको प्रभाव र सुरक्षाको विषय फेरि चर्चामा आएको छ ।




