झापा । झापाको दमक नगरपालिका ८ की २१ वर्षीया रमा तिवारी हत्या प्रकरणमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । घटना भएको करिब १० दिनपछि प्रहरीले अनुसन्धान टुङ्ग्याउँदै मुख्य आरोपितलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका भारतीय नागरिक दमक तथा आसपासका क्षेत्रमा टायल्स र मार्बल जडानको ठेक्कापट्टाको काम गर्दै आएको खुलेको छ । प्रहरी स्रोतका अनुसार मृतक तिवारी र आरोपितबिच घटनाअघि चिनजान रहेको देखिएको छ ।
अनुसन्धानबाट प्राप्त विवरणअनुसार आरोपितले दमकस्थित सगरमाथा पेट्रोल पम्प नजिकको झाडी क्षेत्रमा रमा तिवारीसँग दुई पटक शारीरिक सम्पर्क राखेका थिए । त्यसबापत प्रत्येक पटक एक हजार रुपैयाँ उपलब्ध गराएको खुलेको प्रहरीले जनाएको छ । त्यसपछि रकमको विषयलाई लिएर दुबैबिच विवाद भएको थियो ।
प्रहरीको प्रारम्भिक निष्कर्षअनुसार सोही विवाद उग्र बन्दै जाँदा आरोपितले तिवारीको घाँटी थिचेर हत्या गरेका थिए । हत्या पश्चात् घटनालाई लुकाउन शवलाई मोटरसाइकलमा राखी दमक नगरपालिका १० स्थित सेतुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमुनि लगेर फालिएको अनुसन्धानबाट खुलेको छ ।
गत जेठ १६ गते रतुवा खोलामा बोराभित्र महिलाको शव फेला परेपछि घटनाले व्यापक चर्चा पाएको थियो । शवको पहिचान भएपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको थियो । घटनापछि केही दिनसम्म प्रहरीले हत्याको कारण र संलग्न व्यक्तिबारे स्पष्ट निष्कर्ष निकाल्न नसकेको अवस्था रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाले घटनाको अनुसन्धानका लागि प्राविधिक विश्लेषण, मोबाइल विवरण, स्थानीय सूचना लगायतका आधार प्रयोग गरेको जनाएको छ । अनुसन्धानको क्रममा सङ्कलित प्रमाणका आधारमा भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।






