सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिरहा जिल्ला अधिवेशनमा नेतृत्व चयनको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ । सोमबार जिरोमाइलस्थित अधिवेशनस्थलमा भएको विवाद कुटाकुटमा परिणत भएपछि केही व्यक्ति घाइते भएका छन् ।
झडपमा र्यापिड एक्सन टिमका जिल्ला प्रमुख दिनेश थापालगायत घाइते भएको जनाइएको छ । जिल्ला कार्यसमितिको नेतृत्व कसले पाउने भन्ने विषयमा लामो समयदेखि देखिएको मतभेद उत्कर्षमा पुगेपछि अवस्था तनावपूर्ण बनेको थियो ।
अधिवेशनमा सुभाष यादव, रामसोगारथ यादव र वर्तमान सभापति हरि मैनाली सभापतिका प्रमुख आकांक्षी रहेका छन् । रामसोगारथ यादवले आफूलाई सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नुपर्ने अडान राख्दै आएका छन् भने सुभाष यादव र हरि मैनालीले लोकतान्त्रिक प्रक्रियाअन्तर्गत निर्वाचनमार्फत नेतृत्व चयन हुनुपर्ने माग गर्दै आएका छन् ।
विवादका कारण अधिवेशन प्रभावित भएपछि पार्टीको केन्द्रीय निर्वाचन आयोगले नेतृत्व चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ । आयोगले मंगलबार बिहान ९ बजेदेखि निर्वाचन प्रक्रिया पुनः सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।
आयोगका प्रमुख भुवन केसीद्वारा जारी विज्ञप्तिमा परिस्थितिलाई सामान्य बनाउँदै निर्धारित प्रक्रियाअनुसार निर्वाचन सम्पन्न गरिने उल्लेख गरिएको छ । अधिवेशन स्थलमा उत्पन्न विवादपछि सुरक्षा सतर्कता बढाइएको छ भने पार्टी नेतृत्वले सहमतिमार्फत समस्या समाधान गर्ने प्रयास जारी राखेको बताइएको छ ।




