रौतहट । रौतहटको गढीमाई नगरपालिका ४ सुन्दरपुरस्थित समनपुर–गरुडा सडकखण्डमा सवारी साधनको ठक्करबाट मृत्यु भएका साइकल यात्रीको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमका अनुसार मृतक गढीमाई नगरपालिका ९ मलाहीटोल निवासी ४३ वर्षीय प्रमोद सहनी रहेका छन् ।
आज बिहान सडक किनारमा साइकलसहित सहनी मृत अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार उनको बायाँ खुट्टा साइकलको ह्यान्डलमा अड्किएको अवस्थामा रहेको थियो भने टाउकोमा गम्भीर चोट देखिएको छ ।
प्रारम्भिक अनुसन्धानबाट अज्ञात सवारी साधनले ठक्कर दिएको आशंका गरिएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधनको पहिचान हुन नसकेको र त्यसको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी गौतमले बताए ।
मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।






