काठमाडौं । देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा सडक मर्मतका कारण मुख्य राजमार्ग र सडक खण्डहरू अवरुद्ध भएका छन् । जेठ २५ गते बिहान ६:३० बजेसम्मको आधिकारिक विवरण अनुसार काठमाडौं उपत्यकासहित कोशी र बागमती प्रदेशका कतिपय मुख्य मार्गहरू पूर्ण रूपमा बन्द भएका छन् भने कतिपयमा एकतर्फी मात्र सवारी साधन सञ्चालन भइरहेका छन् ।
पहिरो र सडक मर्मत कार्यका कारण काठमाडौंको सतुङ्गल-चित्लाङ सडक खण्ड र मकवानपुरको कुलेखानी-फाखेल-फर्पिङ सडक खण्ड आगामी एक महिनाका लागि पूर्ण रूपमा बन्द रहने भएका छन् । यस्तै, सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोकको बीपी राजमार्ग अन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
यता कोशी प्रदेशतर्फ बाढीका कारण पाँचथरको याङवरकस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा ठप्प भएको छ भने भोजपुरको बोखिम खण्डमा वैकल्पिक बाटोमार्फत एकतर्फी मात्र गाडी चलिरहेका छन् । सडक अवरोध र मर्मतका कारण लामो दूरीको यात्रा तय गर्नुअघि सडकको अवस्था बुझ्न यात्रुहरूलाई अनुरोध गरिएको छ ।






