रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै लाखौँ मूल्य बराबरको भन्सार छलीका सामान बरामद गर्नुका साथै तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, गरुडा नगरपालिका ४ का तीन जना फरार प्रतिवादीलाई एउटै वडाबाट पक्राउ गरिएको हो । जिल्ला अदालत गौरबाट दोषी ठहर भई लुकिछिपी बस्दै आएका अपराधी उपद्रव मुद्दाका राजु पटेल, सुजित कुमार चौधरी र लागूऔषध गाँजा मुद्दाका सुजित कुमार चौधरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डिएसपी बसन्त गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।
पक्राउ परेकालाई फैसला कार्यान्वयनका लागि १० महिना ८ दिन कैद भुक्तान गर्न जिल्ला अदालत गौरमा बुझाइएको प्रहरीले जनाएको छ । यसैबीच, गौर बसपार्कस्थित अस्थायी प्रहरी पोष्टले गरेको सवारी चेकजाँचका क्रममा भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न सामान बरामद गरिएको छ ।
बरामद सामानमा लत्ता कपडा, चकलेट, कोल्ड ड्रिंक्स र इलेक्ट्रोनिक सामाग्रीसहित करिब २ लाख १६ हजार २५० रुपैयाँ बराबरको अवैध माल सामान रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, प्रहरी चौकी रंगपुरको गस्ती टोलीले वन क्षेत्रबाट अवैध रूपमा कटान गरी ल्याइएको करिव ३० हजार रुपैयाँ मूल्य बराबरको ३० क्युफिट सालको गोलिया काठ पनि बरामद गरेको छ ।
बरामद सबै सामान आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौर र काठ डिभिजन वन कार्यालय चोचामा बुझाइएको प्रहरीले जनाएको छ । रौतहट प्रहरीले पछिल्लो समय फरार प्रतिवादी पक्राउ तथा भन्सार छली नियन्त्रणमा विशेष सक्रियता देखाउँदै आएको छ ।




