सर्लाही । सवारी दुर्घटनापछि प्रहरीमाथि कुटपिट गरेको आरोप लागेका पूर्व मधेश प्रदेशसभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टीका नेता अशोक यादव फरार भएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका भतिजा र भान्जालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार राति कविलासी नगरपालिका ८ अगर्वामा पार्किङ गरी राखिएको ना ६ ख ७६२३ नम्बरको ट्रकमा यादवको ज १ त २५५० नम्बरको ट्याक्टर ठोक्किएको थियो । दुर्घटनापछि यादवसहित २० देखि २५ जनाको समूहले घटनास्थलमा पुगेका प्रहरीमाथि हातपात गर्नुका साथै ट्याक्टर लिएर फरार भएको आरोप प्रहरीले लगाएको छ ।
घटनापछि थप प्रहरी परिचालन गरी संलग्न व्यक्तिहरूको खोजी सुरु गरिएको थियो । सोही क्रममा यादवका भतिजा कविलासी नगरपालिका १० सलेमपुर निवासी १९ वर्षीय बिक्रमकुमार यादव र भारतीय नागरिक तथा उनका भान्जा २१ वर्षीय प्रियांशु यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दामा सर्लाही जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए ।
प्रहरीले फरार रहेका अशोक यादवको खोजी सोमबार रातिदेखि नै जारी राखेपनि मंगलबार साँझसम्म उनलाई पक्राउ गर्न सकेको छैन । मंगलबार दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली कविलासी नगरपालिका १० सलेमपुरस्थित यादवको घरमा पुगेको थियो । तर खान तलासीका क्रममा उनी घरमा नभेटिएपछि टोली फर्किएको प्रहरीले जनाएको छ ।
डीएसपी गौतमका अनुसार प्रहरी कारबाहीमा अवरोध पुर्याएको तथा प्रहरीमाथि हातपात गरेको आरोपमा यादवको खोजी तीव्र पारिएको छ । यता, यादवले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै आफूले अन्याय, अत्याचार र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएको कारण प्रशासन र प्रहरीले विभिन्न आरोप लगाएर फसाउन खोजेको दाबी गरेका छन् ।
विवादमा तानिनु यादवका लागि नयाँ विषय भने होइन । गत वर्ष पूर्वाधार विकास कार्यालय मलंगवामा कर्मचारीमाथि हातपात गरेको आरोपमा उनी चर्चामा आएका थिए । त्यतिबेला तत्कालीन जिल्ला प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कासँग गालीगलौज गरेको आरोपमा पक्राउ परेका यादव करिब एक महिना हिरासतमा बसेपछि एक लाख ६० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।






