सप्तरी । सप्तरी प्रहरीले जबरजस्ती करणी मुद्दामा संलग्न रहेको आरोपमा एक बालकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार करणी गरेको आरोपमा एक बालक पक्राउ परेका हुन् ।
१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक बालकलाई कञ्चनरूप नगरपालिका ८ स्थित कञ्चनपुर बेरियर चोक क्षेत्रबाट पक्राउ गरिएको हो । कानुनी व्यवस्थाअनुसार पक्राउ परेका बालकको परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक विजय कार्कीका अनुसार जेठ २३ गते बिहान करिब १० बजे ती बालकले आफ्नै फुपुको घरमा पीडित बालिकामाथि जबरजस्ती करणी गरी फरार भएका थिए । घटनापछि पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बालकविरुद्ध थप अनुसन्धानका लागि सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति प्राप्त गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




