रौतहट । रौतहटको गढीमाई नगरपालिका ४ सुन्दरपुर चोकमा चार दिनअघि भएको घातक सवारी दुर्घटनाको रहस्य अन्तत: खुलेको छ । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि शंकर प्रसाद आचार्यको सक्रियतामा दुर्घटनापछि सवारीसहित फरार भएका टिप्पर चालकलाई पक्राउ गरिएपछि घटनाको वास्तविकता सार्वजनिक भएको हो ।
जेठ २४ गते राति करिब १ बजे गरुडा–समनपुर सडकखण्ड अन्तर्गत सुन्दरपुर चोकमा साइकलमा घर फर्किरहेका गढीमाई नगरपालिका ९ मलाहीका ३५ वर्षीय प्रमोद सहनीलाई प्रदेश २–०३–००१ ख २६३३ नम्बरको टिप्परले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सहनीको घटनास्थलमै मृत्यु भएको थियो भने चालक तत्काल फरार भएका थिए ।
घटनापछि स्थानीयवासी र मृतकका आफन्त आक्रोशित बनेका थिए । दोषी चालक र सवारी साधनलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै उनीहरूले गरुडा बजार क्षेत्रमा सडक अवरुद्ध समेत गरेका थिए । प्रहरीको आश्वासनपछि आन्दोलन स्थगित गरिएको थियो ।
घटनालाई चुनौतीपूर्ण रूपमा लिँदै इलाका प्रहरी कार्यालय गरुडाले व्यापक अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा १९ वटा टिप्पर र १७ भन्दा बढी चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो ।
सोही क्रममा बृन्दावन नगरपालिका २ निवासी २४ वर्षीय अब्दुल एजाजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकर प्रसाद आचार्यका अनुसार प्रारम्भिक बयानका क्रममा एजाजले दुर्घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् ।
प्रहरीका अनुसार एजाजले शिवम् क्रसर उद्योगबाट ढुङ्गा बोकेर गरुडातर्फ जाँदै गर्दा साइकलमा सवार प्रमोद सहनीलाई ठक्कर दिएका थिए । दुर्घटनापछि उनी घटनास्थलबाट भागेका थिए । प्रहरीले पक्राउ परेका एजाजविरुद्ध सवारी ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
चार दिनसम्म अन्योल र आशंकाबीच रहेको घटनाले चालक पक्राउ परेसँगै स्पष्टता पाएको छ । मृतकका परिवारले दोषीलाई कानुनअनुसार कडा सजाय दिन माग गरेका छन् भने प्रहरीले घटनाका बाँकी पक्षबारे पनि अनुसन्धान जारी रहेको जनाएको छ ।






