सप्तरी । राजविराजमा निर्माण सम्पन्न गरी उद्घाटन गरिएको आधुनिक बसपार्क एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसक्दा अहिले स्थानीयका लागि खेलमैदान र घुमफिर गर्ने स्थलमा परिणत भएको छ ।
दैनिक रूपमा सवारी साधन चल्नुपर्ने उक्त बसपार्क लामो समयदेखि प्रयोगविहीन हुँदा बालबालिका र युवाहरूको खेल्ने ठाउँ बनेको स्थानीयवासीले बताएका छन् । बिहान बेलुका यहाँ घुम्न र खेलकुद गर्न सर्वसाधारणको भीड लाग्ने गरेको छ । स्थानीयका अनुसार बसपार्क सञ्चालन कहिले हुन्छ भन्ने विषय अझै अन्योलमै छ ।
बसपार्क सञ्चालनमा नआएपछि राजविराजका मुख्य सडकमा नै बस तथा अन्य सवारी साधन पार्किङ हुने क्रम जारी रहेको छ, जसले गर्दा आवागमनमा समस्या देखिएको स्थानीयको गुनासो छ ।
चार दशकपछि बसपार्कविहीन अवस्थाको अन्त्य गर्ने उद्देश्यसहित राजविराज नगरपालिकाले करिब १५ करोड ६० लाख रुपैयाँको लागतमा अत्याधुनिक बसपार्क निर्माण गरेको थियो ।
उक्त बसपार्क २०८२ साल जेठ १५ गते उद्घाटन गरिएको हो । तर सञ्चालनका लागि तीन पटक टेन्डर आह्वान गरिएपनि कुनै पनि कम्पनीले आवेदन नदिएपछि सञ्चालन प्रक्रिया अघि बढ्न सकेको छैन ।
राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविनले टेन्डर प्रक्रियामा समस्या आएको स्वीकार गर्दै कार्यविधि संशोधन गरी पुनः बोलपत्र आह्वान गरिएको जानकारी दिइन् । उनले अब चाँडै बसपार्क सञ्चालनमा आउनेमा आफूहरू विश्वस्त रहेको बताइन् ।




