सिरहा । सिरहा प्रहरीले आठ ग्राम ८० मिलीग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका २ लालपुर निवासी २१ वर्षीय श्यामसुन्दर साह रहेका छन् ।
सुखीपुर नगरपालिका २ छजनामा इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका साहलाई जाँच गर्ने क्रममा उनको साथबाट ब्राउन सुगर बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।
पछिल्लो समय जिल्लामा लागुऔषध ओसारपसार तथा कारोबारका घटना बढ्दै गएपछि प्रहरीले निगरानी र जाँचलाई थप कडा बनाएको जनाएको छ ।




