पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुषालले सरकारी सवारी साधनको दुरुपयोग गरेको आरोप लागेका बेला उक्त गाडी दुर्घटनामा परेको छ ।
श्रीमतीको व्यक्तिगत कामका लागि सरकारी गाडी प्रयोग गरी पारिवारिक सयरमा निस्किएको अवस्थामा भुषाल चढेको गाउँपालिकाको स्कार्पियो शुक्रबार सुनवल १२ हरकट्टामा दुर्घटनामा परेको स्रोतले जनाएको छ ।
बुटवलबाट फर्किँदै गरेको सुस्ता गाउँपालिकाको प्र ०१–००१ झ ००६९ नम्बरको स्कार्पियो र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०३–००१ ख ४८१९ नम्बरको ट्रक एकापसमा ठोक्किँएका थिए ।
प्रहरीका अनुसार दुर्घटनामा गाउँपालिकाका चालक सामान्य घाइते भएका छन् । गाडीमा सवार अन्य यात्रु भने सकुशल रहेका छन् । दुर्घटनामा सरकारी स्कार्पियोमा ठूलो क्षति पुगेको स्रोतले जनाएको छ ।






