काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरस्थित शिवालयमा एक साधुको हत्या गरेको आरोपमा अर्का एक साधु पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ८ पशुपतिस्थित १५ नम्बर शिवालयमा गत फागुन ६ गते संखुवासभाका सन्तोष परियार (सन्तोष गिरी) मृत अवस्थामा फेला परेका थिए ।
घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै हत्या आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ५ घर भएका दर्बेनाथ भनिने सुविन रानामगरलाई पक्राउ गरेको हो । नेपाल प्रहरीका अनुसार रानामगरलाई महोत्तरीको गौशाला नगरपालिका ६ बाट पक्राउ गरिएको हो ।
सन्तोष परियारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका रानामगरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पशुपति क्षेत्रजस्तो धार्मिक तथा ऐतिहासिक महत्वको स्थलभित्र भएको उक्त घटनाले त्यसबेला व्यापक चासो र चर्चा पाएको थियो ।
घटनाको अनुसन्धानका क्रममा संकलित प्रमाण तथा प्राप्त सूचनाका आधारमा आरोपीलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।






