महोत्तरी । बर्दिबास नगरपालिका १२ डाँडाटोल बिजलपुरामा गत शुक्रबार राति भएको रिङ्कुकुमारी सिंहको मृत्यु प्रकरणमा प्रहरीले उनका पति, ससुरा र सासूलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार पक्राउ पर्नेमा रिङ्कुका पति शशिकुमार सिंह, ससुरा रामबाबु सिंह र सासू ललितादेवी सिंह रहेका छन् ।
प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ । महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको डीएसपी गोलेले जानकारी दिए ।
रिङ्कुका बुबा तथा गौशाला नगरपालिका ११ निवासी शत्रुघन महतोले छोरीको मृत्यु शंकास्पद रहेको भन्दै पति, ससुरा, सासू, नन्द र नन्दका पतिविरुद्ध किटानी जाहेरी दिएका थिए ।
जाहेरीपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गर्दै फरार रहेका आरोपितमध्ये तीन जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार जाहेरीमा नाम उल्लेख भएका नन्द र उनका पति भने अझै फरार छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
२५ वर्षीया रिङ्कु गत शुक्रबार (जेठ २९ गते) राति करिब ८ बजे आफ्नै घरको दोस्रो तलामा रहेको शयनकक्षमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
घटनापछि माइती पक्षले रिङ्कुको हत्या भएको दाबी गर्दै आरोपित पक्षको घरमा तोडफोड गर्नुका साथै एउटा गाडीमा आगजनी गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




