पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले अत्यधिक गर्मी बढेका कारण दुई दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिकाले सूचना जारी गर्दै पालिकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण विद्यालयहरूमा बिदा दिने घोषणा गरेको हो ।
गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवद्वारा हस्ताक्षरित सूचनाअनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो। सोहीअनुसार असार ४ र ५ गते दुई दिनका लागि शिक्षण संस्थाहरू बन्द रहनेछन्।
यो निर्णय पालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक, संस्थागत (निजी) तथा परम्परागत (धार्मिक) विद्यालयहरूमा लागू हुने जनाइएको छ। साथै, उक्त बिदा विद्यार्थीहरूको वार्षिक बिदाबाट कट्टा हुने गरी व्यवस्थापन गरिने प्रतापपुर गाउँपालिका कार्यालय, बेलाटारीले जनाएको छ।






