काठमाडौं । वर्षे धानको खेतीलाई लक्षित गर्दै मधेस प्रदेश सरकारले प्रदेशका १३६ वटै स्थानीय तहमा रासायनिक मल वितरणका लागि बाँडफाँट गरेको छ ।
धान रोपाइँ सुरु भइसक्दा पनि किसानले पर्याप्त मल नपाएको भन्दै आलोचना भइरहेका बेला प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत गठित प्रदेश मल समितिले युरिया र डीएपी मल वितरणको जिम्मेवारी सम्बन्धित निकायलाई दिएको हो ।
मन्त्रालयका अनुसार प्रदेश मल समितिको जेठ २७ गते बसेको बैठकले ७ हजार ३२८ मेट्रिक टन युरिया र ६ हजार ६१० मेट्रिक टन डीएपी गरी कुल १३ हजार ९ सय ३८ मेट्रिक टन रासायनिक मल बाँडफाँट गर्ने निर्णय गरेको थियो ।
मन्त्रालयका प्रवक्ता मनीष कुमार पालका अनुसार कृषि सामाग्री कम्पनी लिमिटेडमार्फत युरिया र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत डीएपी मल प्रदेशका सबै स्थानीय तहमा वितरण गरिनेछ ।
जिल्लागत रूपमा हेर्दा सप्तरीका १८ स्थानीय तहका लागि ९७५ मेट्रिक टन युरिया र १ हजार ३५ मेट्रिक टन डीएपी छुट्याइएको छ । त्यस्तै सिरहाका स्थानीय तहहरूका लागि १ हजार ७२ मेट्रिक टन युरिया र १ हजार १३७ मेट्रिक टन डीएपी उपलब्ध गराइने भएको छ ।
धनुषाका स्थानीय तहका लागि ९२६ मेट्रिक टन युरिया र ७७८ मेट्रिक टन डीएपी तथा महोत्तरीका लागि ८८० मेट्रिक टन युरिया र ७४० मेट्रिक टन डीएपी मल विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।
यसैगरी सर्लाहीका स्थानीय तहहरूका लागि १ हजार ९३ मेट्रिक टन युरिया र ९१९ मेट्रिक टन डीएपी, रौतहटका लागि ८७५ मेट्रिक टन युरिया र ७३६ मेट्रिक टन डीएपी, बाराका लागि ८१९ मेट्रिक टन युरिया र ६८९ मेट्रिक टन डीएपी तथा पर्साका स्थानीय तहहरूका लागि ६८७ मेट्रिक टन युरिया र ५७८ मेट्रिक टन डीएपी मल बाँडफाँट गरिएको छ ।
मन्त्रालयले सम्बन्धित निकायलाई किसानसम्म समयमै मल उपलब्ध गराउन आवश्यक समन्वय र व्यवस्थापन गर्न निर्देशन दिएको जनाएको छ ।






