रौतहट । सडक दुर्घटनाका घटनामा वृद्धि भइरहेका बेला रौतहटको सदरमुकाम गौरमा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।
ट्राफिक सप्ताह २०८३ अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको संयोजनमा स्थानीय प्रशासन, गौर नगरपालिका तथा विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूको सहभागितामा बुधबार प्रभातफेरी निकालिएको हो ।
गौर बजार क्षेत्र परिक्रमा गरिएको प्रभातफेरीमा सहभागीहरूले ट्राफिक सचेतनासम्बन्धी सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए । “ट्राफिक नियम पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ” लगायतका नारामार्फत सडक सुरक्षाबारे जनचेतना फैलाइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले ट्राफिक नियमको पालना केवल कानुनी दायित्व मात्र नभई नागरिकको सामाजिक जिम्मेवारीसमेत भएको बताए । उनले दुर्घटना न्यूनीकरणका लागि सचेतना र अनुशासन दुवै आवश्यक रहेको उल्लेख गरेका थिए ।
गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले सुरक्षित सडक र व्यवस्थित यातायात प्रणाली निर्माणमा स्थानीय तह प्रतिबद्ध रहेको बताउँदै ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनले मात्र दुर्घटनामा कमी ल्याउन सकिने धारणा राखेका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले ट्राफिक सप्ताहभर विद्यालय, सार्वजनिक स्थल तथा यातायात क्षेत्र केन्द्रित विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिएका थिए ।
उनले चालक, यात्रु र पैदलयात्री सबैले नियमको पालना गरे मात्र सडक यात्रा सुरक्षित बन्ने बताएका थिए । सयौँ नागरिक, विद्यार्थी, सुरक्षाकर्मी, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको प्रभातफेरीले गौर बजारलाई केही समय ट्राफिक सचेतनाको सन्देशमय बनाएको थियो ।
आयोजकका अनुसार यस्ता कार्यक्रमले सडक सुरक्षाप्रति नागरिकको जिम्मेवारीबोध बढाउनुका साथै दुर्घटना न्यूनीकरणमा दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ ।






