सिरहा । सिरहाको औरही गाउँपालिका १ दरहियास्थित श्री जनता माध्यमिक विद्यालय (प्राविधिक धार) का प्रधानाध्यापकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले गरेको तालाबन्दीका कारण ३ दिनदेखि पठनपाठन प्रभावित बनेको छ ।
विद्यालयका प्रधानाध्यापक उपेन्द्र प्रसाद यादवले कक्षा कोठामै विद्यार्थीहरूसँग अशोभनीय व्यवहार गर्ने, अश्लील शब्द प्रयोग गर्ने तथा पढाउनु पर्ने विषय वस्तुभन्दा राजनीतिक गतिविधिमा बढी संलग्न हुने गरेको आरोप लगाउँदै विद्यार्थीहरूले असार ३ गते नै प्रधानाध्यापकको कार्यालयमा तालाबन्दी गर्दा पठनपाठन प्रभावित भएको हो ।
तालाबन्दीपछि समस्या समाधानका लागि पहल गर्नुको सट्टा प्रधानाध्यापकले घटनालाई बेवास्ता गर्दै आफ्ना निकट विद्यार्थीहरूलाई उचालेर विद्यालयको शैक्षिक वातावरण थप बिगार्ने प्रयास गरेको स्थानियहरुको गुनासो छ ।
स्थानीय युवा धर्मेन्द्र यादवका अनुसार विद्यार्थीहरूले कार्यालयमा तालाबन्दी गर्दा प्रधानाध्यापक कुनै प्रतिक्रिया नदिई विद्यालयबाट बाहिरिएका थिए । ‘विद्यालयमा यस्तो अवस्था सिर्जना हुँदा प्रधानाध्यापकले जिम्मेवारीपुर्वक समस्या समाधानतर्फ लाग्नुपर्ने हो तर उहाँकाे व्यवहारका कारण आज पनि पठनपाठन हुन सकिरहेकाे छैन्’ उनले भने ।
अभिभावक प्रमोद यादवले विद्यालयमा शिक्षण गतिविधिभन्दा राजनीतिक प्रभाव बढ्दै गएको आरोप लगाएका छन् । एक समय यही विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरू डाक्टर, शिक्षक लगायत विभिन्न क्षेत्रमा सफल भएका थिए तर पछिल्लो २ वर्षयता विद्यालयको शैक्षिक अवस्था निकै कमजोर बनेको उनले बताए ।
यता, विद्यालयमा दुई दिनदेखि पठनपाठन अवरुद्ध भएको विषयमा प्रतिक्रिया लिन प्रधानाध्यापक उपेन्द्र प्रसाद यादवसँग सम्पर्क गर्न खोजिए पनि उनी सम्पर्कमा आउन चाहेनन् । औरही गाउँपालिकाको शिक्षा शाखामा कार्यरत कर्मचारी सन्तोष यादवले भने घटनाबारे आफूलाई औपचारिक जानकारी नभएको बताए ।
‘तपाईंको फोनमार्फत पहिलो पटक जानकारी पाएँ, न प्रधानाध्यापकबाट, न विद्यार्थीबाट कुनै जानकारी आएको छ, वास्तविक अवस्था बुझेर आवश्यक कदम चाल्छौं’, उनले भने ।
यसैबीच, हालै सम्पन्न अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिमा ४ जना अभिभावक चयन भएपनि उनीहरू प्रधानाध्यापक निकट नरहेको कारण विद्यालय भित्र विवाद सिर्जना गरिएको स्थानीयवासीहरूको आरोप छ ।
विद्यालय जस्तो संवेदनशील संस्थालाई राजनीतिक अखडा बनाउने प्रवृत्तिले विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने गरेको उनीहरूको भनाइ छ । स्थानीय अभिभावक तथा सरोकारवालाहरूले सम्बन्धित निकायलाई घटनाको निष्पक्ष छानबिन गरी विद्यालयको शैक्षिक वातावरण तत्काल सामान्य बनाउन स्थानियहरुले माग गरेका छन् ।




