सर्लाही । सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका १० स्थित झिमपुल क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई वटा मोटरसाइकललाई शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा उक्त रकम बरामद गरिएको हो ।
प्रहरीले बीआर ३० एपी ०८८२ नम्बरको भारतीय मोटरसाइकल र मधेश प्रदेश ०५–००१ प ११०६ नम्बरको मोटरसाइकलसहित रामनगर गाउँपालिका ३ का २८ वर्षीय गुड्डु कुमार यादव तथा रामनगर गाउँपालिका १ का २४ वर्षीय रुपेश कुमार यादवलाई नियन्त्रणमा लिएको जनाएको छ ।
उनीहरूको साथबाट स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगद, दुई वटा मोटरसाइकल र ओप्पो तथा सामसुङ कम्पनीका दुई थान मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धानका लागि दुवै जनामाथि हुण्डी तथा अवैध रकम कारोबारसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।




