काठमाडौं । विशेष अदालतले यातायात व्यवस्था कार्यालय पर्साका तत्कालीन अधिकृत कमलराज गौतमलाई अकुत आर्जन (गैरकानुनी सम्पत्ति) सम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गौतमलाई १ वर्ष कैद र १ करोड ८ लाख १ हजार ८३८ रुपैयाँ २४ पैसा जरिवाना गर्ने फैसला सुनाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमविरुद्ध सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।
सो मुद्दा अनुसार २०५५ वैशाख ७ गतेदेखि २०७९ चैत २४ गतेसम्मको उनको चल–अचल सम्पत्तिमाथि गरिएको अनुसन्धानमा स्रोत नखुलेको सम्पत्ति फेला परेको दाबी गरिएको थियो ।
अख्तियारका अनुसार गौतमको जागिरे अवधिमा मौज्दातसहित कुल ५ करोड ४० लाख ९८ हजार ९५५ रुपैयाँ बराबरको खर्च तथा लगानी देखिएको थियो । कुल आय र खर्चको विश्लेषण गर्दा २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको भन्दै मुद्दा दायर गरिएको थियो ।
तर विशेष अदालतले सुनुवाइपछि गौतमको वैध आय ३ करोड ४७ लाख ८६ हजार ३८२ रुपैयाँ ३१ पैसा र कुल व्यय ४ करोड ५५ लाख ८८ हजार २२० रुपैयाँ ५५ पैसा रहेको निष्कर्ष निकालेको छ ।
अदालतका अनुसार वैध आयभन्दा व्यय बढी देखिएकाले १ करोड ८ लाख १ हजार ८३८ रुपैयाँ २४ पैसा बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरिएको ठहर गरिएको हो । अदालतले सोही आधारमा उनलाई दोषी ठहर गर्दै कैद तथा जरिवानाको सजाय सुनाएको हो ।






