रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका ३ स्थित मत्सरी घाटमा बागमती नदीको बीच भागमा फसेका १४ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । आइतबार अपराह्न करिब ३ः४० बजे मुङको दाल टिपेर घर फर्कने क्रममा अचानक बाढी आएपछि ११ महिला र ३ बालिका गरी १४ जना बीच नदीमा फसेका थिए ।
घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मुख्यालय रौतहट तथा मातहतका कार्यालयबाट सशस्त्र प्रहरी वरिष्ठ निरीक्षक यज्ञबहादुर योञ्जनको कमाण्डमा विपद् व्यवस्थापन (डीएम) टोली र रबर बोटसहित उद्धार कार्यमा खटिएको थियो ।
टोलीले साँझ करिब ५ बजे रबर बोटको प्रयोग गरी नदीको बीच भागमा फसेका सबै १४ जनालाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारीले जानकारी दिए ।
अचानक नदीमा पानीको बहाव बढेपछि उनीहरू टापुमा फसेका थिए । तर समयमै उद्धार टोली पुगेर सुरक्षित रूपमा उद्धार गरेपछि सबै जना घर फर्किएको प्रहरीले जनाएको छ ।




