वीरगंज । विवाह भएको पाँच महिना नपुग्दै वीरगंजमा एक युवतीको रहस्यमय मृत्यु भएपछि दाइजोसम्बन्धी हत्या भएको आरोप उनका परिवारजनले लगाएका छन् । घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै पीडित परिवारले पत्रकार सम्मेलन समेत गरेका छन् ।
भारतको बिहार राज्यअन्तर्गत मैनाटार प्रखण्ड, इनर्वा निवासी मृतकका बुबा अशरफ अलीले आफ्नी छोरी खुशबुन खातुनको मृत्यु दाइजो विवादकै कारण भएको दाबी गरेका छन् । उनका अनुसार वीरगंज महानगरपालिका १३ राधेमाई निवासी ज्वाइँ अरबाज आलम, ससुरा आसमहम्मद मियाँ र सासू तैमुल खातुन मिलेर छोरीको हत्या गरेको आरोप छ ।
केही दिनअघि खुशबुनको शव आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेको थियो । तर, परिवारले यो आत्महत्या नभई योजनाबद्ध हत्या भएको दाबी गरेको छ । बुबा अशरफ अलीका अनुसार विवाहपछि नै केटापक्षले लगातार दाइजोको विषय उठाउँदै छोरीमाथि मानसिक तथा शारीरिक यातना दिँदै आएको थियो ।
उनका अनुसार दाइजो नल्याएको भन्दै अपमानजनक व्यवहार, कुटपिट तथा निरन्तर दबाब दिने गरिएको थियो । असार ३ गते छोरीलाई कुटपिट गरी हत्या गरिएको परिवारको आरोप छ । पीडित बुबा अशरफ अलीले घटनामा प्रहरी प्रशासनबाट अपेक्षित सहयोग नपाएको गुनासो पनि गरेका छन् ।
उनले ज्वाइँ अरबाज आलमको अर्को युवतीसँग सम्बन्ध रहेको आरोपसमेत लगाएका छन् । उनका अनुसार आलमले घरमै ती युवतीसँग भिडियो कलमार्फत कुराकानी गर्ने र त्यसको विरोध गर्दा खुशबुनमाथि थप हिंसा हुने गरेको थियो ।
“पाँच महिनाको वैवाहिक जीवनमध्ये एक दुई महिना मात्रै सम्बन्ध सामान्य रह्यो होला । बाँकी समय लगातार झगडा र तनावमै बित्यो,” अशरफ अलीले पत्रकार सम्मेलनमा भने । उनले पटक–पटक पञ्चायती बसेर विवाद समाधान गर्ने प्रयास भएपनि व्यवहारमा कुनै सुधार नआएको बताए । परिवारले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ ।




