सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका १४ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत सर्लाहीबाट कैद तथा जरिवानाको फैसला सुनाइए पनि लामो समयदेखि सजाय भुक्तान नगरी फरार रहेका व्यक्तिहरूलाई खोजतलास गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार पक्राउ परेका सबै प्रतिवादीलाई सोमबार आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत सर्लाहीमा बुझाइएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये बागमती नगरपालिका ६ निवासी आनन्दकुमार रायमाथि लागुऔषध र मोबाइल चोरीसम्बन्धी तीनवटा छुट्टाछुट्टै मुद्दा रहेका थिए । अदालतले उनीविरुद्ध कैद तथा जरिवानाको फैसला सुनाएको थियो ।
यस्तै चक्रघट्टा गाउँपालिका ६ निवासी कृष्णकुमार राय गर्भपतन मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन् । उनलाई अदालतले ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय तोकेको थियो ।
कुटपिट तथा आपराधिक उपद्रवका मुद्दामा दोषी ठहर भएका रामधारी राय यादव, सुरेश यादव, शेख इसराफुल, विजय साह सोनार, शेख ममताज तथा विजय साह कलवारलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई अदालतले जनही १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
त्यसैगरी लागुऔषधसम्बन्धी मुद्दामा दोषी ठहर भएका ईश्वरपुर नगरपालिका १२ का भोला राय यादव, दीपबहादुर बल तथा चक्रघट्टाका सत्रोधन कुमार यादवलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूलाई अदालतले २० हजारदेखि ३० हजार रुपैयाँसम्म जरिवाना तोकेको थियो ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरूलाई विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।
प्रहरीले अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने, फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याउने तथा समाजमा दण्डहीनता अन्त्य गर्ने उद्देश्यले विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ ।




