जनकपुर । धनुषाका १८ स्थानीय तहमध्ये तीन स्थानीय तहले कानुनले तोकेको समयभित्र नगरसभा गर्न सकेनन् । जनकपुरधाम उपमहानगरपालिका, कमला नगरपालिका र विदेह नगरपालिकाले असार १० गतेभित्र नगरसभा सम्पन्न गर्न नसकेका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र नगरसभा वा गाउँसभा सम्पन्न गरी असार ३० गतेभित्र बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ । यद्यपि, बजेट भने असार मसान्तभित्र अनिवार्य रूपमा पारित गरिसक्नुपर्ने कानुनी प्रावधान रहेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह विदेशमा रहेकाले नगरसभा निर्धारित समयमा हुन नसकेको उपमेयर किशोरी साहले बताएका छन् । उनका अनुसार मेयरको अनुपस्थितिका कारण सभा स्थगित भएको हो ।
विदेह नगरपालिकाका प्रमुख बेचन दासले आर्थिक वर्ष २०८१/८२ को आर्थिक हिसाब फर्स्योट हुन नसकेकाले नगरसभा गर्न समस्या भएको बताए । उनका अनुसार जनमत पार्टीको आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछि आवश्यक कागजात व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको थियो ।
यस्तै, कमला नगरपालिकाका मेयर विशेश्वर यादवले जनप्रतिनिधिबीचको आन्तरिक विवादका कारण नगरसभा निर्धारित समयमा आयोजना गर्न नसकिएको बताए । अब छिट्टै कार्यपालिका बोर्ड बैठक बसेर नगरसभाको नयाँ मिति तय गरिने उनले जानकारी दिए ।
यता धनुषाका गणेशमान चारनाथ, नगराइन, क्षीरेश्वरनाथ, धनुषाधाम, मिथिला, सबैला, शहीदनगर, मिथिला बिहारी, हंसपुर लगायतका नगरपालिका तथा बटेश्वर, लक्ष्मिनियाँ, औरही, जनकनन्दिनी, मुखियापट्टी मुसहरनियाँ र धनौजी गाउँपालिकाले भने नगरसभा सम्पन्न गरिसकेका छन् ।




