धनगढी । कैलालीको धनगढीमा तीन दिनदेखि बेपत्ता रहेका एक बालकको शव बीभत्स अवस्थामा फेला परेको छ । धनगढी उपमहानगरपालिका १७ उत्तरखैरेनीस्थित मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरी शुक्रबार स्थानीय जङ्गलमा मृत भेटिएका हुन् ।
गत बुधबार साँझदेखि सम्पर्कविहीन भएका चौधरीको खोजी गर्ने क्रममा प्रहरी र स्थानीय बासिन्दाले जङ्गलमा उनको शव भेटाएका थिए । घटनास्थलको प्रकृति हेर्दा बालकको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
शव फेला परेको स्थानमा रगत लतपतिएका ढुङ्गाहरू र बालकले प्रयोग गर्ने साइकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बालकको शव केही सडिसकेको अवस्थामा भेटिएको छ ।
उर्मा बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत ती बालकको मृत्यु बारे थप तथ्य पत्ता लगाउन प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर सूक्ष्म अनुसन्धान सुरु गरेको छ ।






