काठमाडौं । केही दिनयता कमजोर देखिएको मनसुन अबको हप्तादेखि क्रमश: सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले मङ्गलबारपछि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले पनि देशका केही स्थानमा भारी वर्षा भइरहेको छ । तर सोमबारदेखि मनसुनको प्रभाव थप बढ्ने र मङ्गलबारपछि धेरै क्षेत्रमा उल्लेख्य वर्षा हुने सम्भावना रहेको उनले बताए ।
आज राति कोशी प्रदेशका पहाडी तथा तराईका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ । आइतबार राति पनि कोशी प्रदेशका पहाडी र तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ । यता सुदूरपश्चिम प्रदेशको तराई र लुम्बिनी प्रदेशको पश्चिमी तराईका केही स्थानमा आइतबार तातो लहर (हिटवेभ) को सम्भावना रहेको विभागले जनाएको छ ।
सोमबारदेखि भने देशभर मनसुन थप सक्रिय हुनेछ । देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । तराईका केही क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने विभागको पूर्वानुमान छ ।
सोमबार कोशी प्रदेशका पहाडी तथा तराईका एक दुई स्थानमा भारी वर्षा हुन सक्नेछ । साथै, कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ । सोमबार रातिदेखि मनसुन अझ सक्रिय हुने विभागले जनाएको छ ।
त्यसक्रममा कोशी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ भने मधेस प्रदेशका एक दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ ।
मौसमविद् धर्मराज उप्रेतीका अनुसार असार १४ देखि १७ गतेसम्म मनसुन थप सक्रिय हुने र असार १६ देखि १८ गतेसम्म देशका विभिन्न स्थानमा पर्याप्त वर्षा हुने सम्भावना छ । उनका अनुसार यस अवधिको वर्षाले धान रोपाइँका लागि अनुकूल वातावरण बनाउने अपेक्षा गरिएको छ । उप्रेतीले सोमबारपछि पश्चिम नेपालका बाँकेदेखि कञ्चनपुरसम्मका जिल्लामा पनि राम्रो वर्षा हुने सम्भावना रहेको जानकारी दिए ।






