रौतहट । रौतहटको पश्चिमी क्षेत्रस्थित फतुवा विजयपुर नगरपालिका ३ मेवामा रहेको रौतहट–बारा सीमाको वर्षौँदेखि अलपत्र अवस्थामा रहेको पुलको अन्ततः ढलान सम्पन्न भएको छ । पुलको ढलान सम्पन्न भएपछि अब मेवा र रुपौलियाका बासिन्दामात्र नभई रौतहट र बाराका हजारौँ नागरिकलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।
विशेष गरी वर्षायाममा अवरुद्ध हुने सडक नियमित सञ्चालनमा आउने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन् । स्थानीयका अनुसार उक्त पुल निर्माणको काम २०७८ सालमै ठेकेदार अरबिन्द साहले सुरु गरेका थिए । तर बारा जिल्लातर्फका केही स्थानीयले पुल निर्माणपछि आफ्नो बस्ती डुबानमा पर्ने आशंका व्यक्त गर्दै विरोध जनाएका थिए ।
विरोधका क्रममा निर्माण सामग्रीमा क्षति पुगेको तथा झडपसमेत भएको थियो । त्यसपछि दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय तहका प्रमुख, जनप्रतिनिधि तथा सम्बन्धित निकायबीच पटक–पटक छलफल भए पनि विवाद समाधान हुन नसक्दा पुलको निर्माण कार्य वर्षौँसम्म रोकिएको थियो ।
यसबीच मधेश प्रदेश सरकारको करिब ८ लाख रुपैयाँ लागतमा पूर्वाधारतर्फको बाँकी काम सम्पन्न गर्दै शुक्रबार राति पुलको ढलान गरिएको हो । स्थानीय सञ्चारकर्मी रुपेश यादवका अनुसार पुल निर्माण कार्य सम्पन्न हुन नेपाली कांग्रेसका युवा नेता तथा फतुवा विजयपुर नगरपालिकाका मेयरका आकांक्षी ज्ञानेन्द्र यादवले आवश्यक पहल र समन्वय गरेका थिए ।
वडा नं. ३ का पूर्व वडा अध्यक्ष दीप नारायण साहका अनुसार पुल सञ्चालनमा आएपछि मेवाबाट हरनहिया हुँदै कलैया तथा द्रुतमार्ग निजगढसम्म वर्षायाममा समेत सहज रूपमा आवतजावत गर्न सकिनेछ । यसअघि पुल नहुँदा वर्षायाममा बाटो पूर्ण रूपमा अवरुद्ध हुने र करिब एक किलोमिटर दूरी पार गर्न लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो ।
स्थानीयवासीले लामो समयदेखि रोकिएको योजना सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन् । उनीहरूले पुल निर्माण सम्पन्न गराउन भूमिका खेलेको भन्दै ज्ञानेन्द्र यादव प्रति आभार समेत व्यक्त गरेका छन् । वर्षौँदेखि प्रशासनिक विवाद, स्थानीय असहमति र सम्भावित डुबानको चिन्ताका कारण रोकिएको पुलको ढलान सम्पन्न भएसँगै स्थानीय पूर्वाधार विकासमा देखिएको एउटा जटिलता अन्त्य भएको छ ।
यद्यपि पुल सञ्चालनपछि यसको दीर्घकालीन प्रभाव, विशेष गरी डुबान व्यवस्थापन र प्राविधिक सुरक्षाका विषयमा सम्बन्धित निकायले निरन्तर अनुगमन गर्नुपर्ने आवश्यकता रहेको स्थानीयको भनाइ छ ।






