सप्तरी । वर्षायामको सुरुवातसँगै सप्तरीको हुलाकी सडकमा देखिएको क्षतिले पूर्वाधारको दिगोपनमाथि पुनः प्रश्न उठाएको छ । सामान्य वर्षापछि आएको बाढीको पानीले ‘रेनकट’ गर्दा विष्णुपुर गाउँपालिका १ को खुरहुरिया टोलपूर्व पुलछेउको सडक भासिएको हो ।
सडक भासिएसँगै दैनिक हजारौं सवारीसाधन आवतजावत गर्ने यो मार्ग थप जोखिमपूर्ण बनेको छ । उक्त पुल यसअघि नै साँघुरो भएकाले चारपांग्रे सवारीसाधन एकतर्फी रूपमा मात्र सञ्चालन हुँदै आएका थिए ।
अहिले पुलसँगै जोडिएको सडक नै भासिएपछि सवारी सञ्चालन झन् जटिल बनेको स्थानीयवासी बताउँछन् । विशेष गरी वर्षाको समयमा दुर्घटनाको जोखिम बढेकाले चालक र यात्रु दुवै त्रसित बनेका छन् ।
विष्णुपुर गाउँपालिका १ का वडाध्यक्ष बलराम यादवका अनुसार स्थानीय तहले तत्काल जोखिम कम गर्न अस्थायी मर्मतको तयारी थालेको छ । तर, जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिन भारी वर्षाको सम्भावना औँल्याएकाले थप क्षति हुन सक्ने चिन्ता बढेको उनले बताए ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका सूचना अधिकारी इन्जिनियर उपेन्द्र दासका अनुसार राजविराजदेखि पश्चिमतर्फको सडक खण्ड चार महिनाअघि नै सडक डिभिजन कार्यालय लहानलाई हस्तान्तरण गरिसकिएको छ । अब सो सडकको मर्मत, संरक्षण तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सडक डिभिजन कार्यालयकै हुने उनले जानकारी दिए ।
सडक डिभिजन कार्यालय लहानका प्रमुख ध्रुवकुमार झाले क्षतिग्रस्त स्थानको विवरण संकलन भइसकेको र ‘इमर्जेन्सी वर्क’ अन्तर्गत सिलबन्दी कोटेसनमार्फत मर्मतको प्रक्रिया अघि बढाइने बताए । सार्वजनिक खरिद प्रक्रियाअनुसार न्यूनतम सात दिनको सूचना प्रकाशित गरेर काम सुरु गरिने उनको भनाइ छ ।
हुलाकी सडक सप्तरीको पश्चिमी भेगका बासिन्दाका लागि जीवनरेखा मानिन्छ । पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फ, भारतीय सीमावर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण यही सडक हुँदै राजविराज तथा अन्य बजार क्षेत्रमा पुग्ने गर्छन् ।
दैनिक हजारौं सवारीसाधन सञ्चालन हुने यो मार्गमा सामान्य वर्षामै सडक भासिनुले पूर्वाधार निर्माणको गुणस्तर र समयमै मर्मतसम्भारको आवश्यकता फेरि एकपटक उजागर गरेको छ ।
स्थानीयवासीले वर्षायामभर जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था अन्त्य गर्न अस्थायी मर्मतभन्दा पनि दिगो समाधान आवश्यक रहेको बताएका छन् । आगामी दिनमा भारी वर्षा भए सडकको थप भागमा समेत क्षति पुग्न सक्ने भएकाले सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको माग छ ।






