बारा । बाराको सिमरा विमानस्थल नजिक डुमरवाना–सिमरा भित्री सडकखण्डमा स्कुटर, मोटरसाइकल र ट्र्याक्टर एकापसमा ठोक्किँदा एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार साँझ जितपुरसिमरा उपमहानगरपालिका २ मा भएको दुर्घटनामा स्कुटर चालक वीरगञ्ज महानगरपालिका २९ निवासी १७ वर्षीय लक्की सराफ गम्भीर घाइते भएका थिए ।
टाउको, छाती र मुखमा गम्भीर चोट लागेका उनको सिमरास्थित सिटी स्टार अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा गएराति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार डुमरवानाबाट सिमरातर्फ जाँदै गरेको ना २८ प ५८५५ नम्बरको स्कुटरले सोही दिशातर्फ अघि बढिरहेको प्रदेश २–०३–००१ त ३७७३ नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–०४१ प २२७४ नम्बरको मोटरसाइकलसँग ठोक्किँएको थियो ।
दुर्घटनामा स्कुटरको पछाडि सवार वीरगञ्ज महानगरपालिका २ छपकैया निवासी १७ वर्षीय दिलसाद देवान सामान्य घाइते भएका छन् । उनको नगर अस्पताल, सिमरामा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, मोटरसाइकल चालक जितपुरसिमरा उपमहानगरपालिका २३ निवासी २९ वर्षीय रइफुल आलम अन्सारीको दाहिने हात र खुट्टामा चोट लागेको छ । प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि वीरगञ्जस्थित हेल्थ केयर अस्पतालमा रिफर गरिएको छ ।
दुर्घटनामा संलग्न ट्र्याक्टर चालक जितपुरसिमरा उपमहानगरपालिका ४ औराहा निवासी ७० वर्षीय शिवराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा संलग्न स्कुटर, मोटरसाइकल र ट्र्याक्टर इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






