सिरहा । सिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका २ पर्सास्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट ५ वर्षीया बालिका र बसका सहचालकको मृत्यु भएको छ ।
बुधबार अपराह्न करिब ४:१५ बजे विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्कँदै गरेको को १ ख ३५९९ नम्बरको पायोनियर एजुकेशन एकेडेमीको बसबाट बालिकालाई ओराल्ने क्रममा बस अगाडि बढ्दा पछाडिको चक्काले किचिएर दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा लहान नगरपालिका २२ निवासी बसका २५ वर्षीय सहचालक ओमप्रकाश यादव र सप्तरीको बोधेबरसाइन नगरपालिका ८ काचन स्थायी घर भई हाल मावलीको घर सिरहाको लक्ष्मिपुरपतारी २ पर्सामा बस्दै आएकी तथा सोही विद्यालयमा अध्ययनरत ५ वर्षीया समिक्षा कुमारी साह रहेका छन् ।
प्रहरीका अनुसार बालिकालाई सुरक्षित रूपमा झार्ने क्रममा बस अगाडि बढ्दा उनीसँगै सहचालक पनि बसको पछाडिको चक्कामुनि परेका थिए, जसका कारण दुवैको घटनास्थलमै ज्यान गएको हो ।
दुर्घटनामा संलग्न बसलाई इलाका प्रहरी कार्यालय महेशपुरपतारले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।






