वीरगन्ज । वीरगन्जको सडकपेटीमा साइकलमा आँप बिक्री गर्दै आएका एक भारतीय नागरिक ठूलो परिमाणको लागू औषध ब्राउन सुगर (खैरो हेरोइन) सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारको बेतिया जिल्लास्थित गोपालपुर ग्राम पञ्चायत २ घोघा घर भई हाल वीरगन्ज महानगरपालिका ८ मा डेरा गरी बस्दै आएका ३० वर्षीय गुड्डु आलम रहेका छन् ।
प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका ९ क्षेत्रमा साइकलमा आँप बिक्री गर्ने क्रममा आलमले लागू औषधसमेत कारोबार गरिरहेको सूचना प्राप्त भएको थियो । उक्त सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा टोली परिचालन गरिएको थियो । प्रहरी टोलीले मंगलबार साँझ आलमले प्रयोग गरेको साइकल जाँच गर्ने क्रममा पछाडिको चक्कानजिक झुन्ड्याइएको प्लास्टिकको बोराभित्र लुकाइएको अवस्थामा ब्राउन सुगर फेला पारेको हो ।
उक्त प्लास्टिकभित्र कालो प्लास्टिकले बेरिएको र त्यसमा सेतो प्लास्टिकमा राखिएको अवस्थामा २७ ग्राम २९० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बरामद लागूऔषधसहित आलमलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।




