काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका ८ बौथली चोकमा मोटरसाइकल अनियन्त्रित भएर सडकछेउको पसलमा ठोक्किँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका छन् ।
दुर्घटनामा रौतहटको राजदेवी नगरपालिका २ घर भई हाल काठमाडौं बस्दै आएका ३३ वर्षीय उपेन्द्र ठाकुरले चलाएको बा प्र ०२–०३६ प ७६१५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक उपेन्द्र ठाकुर, उनकी ३० वर्षीया श्रीमती रमिता देवी ठाकुर, ३ वर्षीय छोरा रुस्तम ठाकुर, बाँके घर भई काठमाडौं बस्दै आएका २ वर्षीय सरोज तामाङ तथा चन्द्रागिरी नगरपालिका ८ बौथली चोककी ५ वर्षीया युजला श्रेष्ठ घाइते भएका छन् ।
घाइते सबैको प्रहरीको निगरानीमा काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिएको छ भने घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।






