सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका १ मानपुरमा एक पुरुषको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ परेका युवकले आफ्नै परिवारका सदस्यलाई फसाउने उद्देश्यले हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले बुधबार पत्रकार सम्मेलनमार्फत बसबरिया गाउँपालिका १ मानपुर निवासी २५ वर्षीय सन्तोष कुमार रायलाई सार्वजनिक गरेको हो । गत असार ७ गते राति करिब १ बजे आफ्नै भैंसी गोठमा सुतिरहेका सोही स्थानका ५३ वर्षीय होस नारायण राय यादवमाथि धारिलो हतियार (हँसिया) प्रहार गरी हत्या गरिएको थियो ।
प्रहरीले घटनास्थल नजिकै रहेको एक किराना पसलमा जडान गरिएको सिसिटिभी क्यामराको फुटेज परीक्षण गरेको थियो । फुटेजका आधारमा सन्तोष कुमार रायमाथि शंका केन्द्रित भएपछि उनको खोजी सुरु गरिएको थियो ।
फरार रहेका रायलाई इलाका प्रहरी कार्यालय बरहथवाको टोलीले असार १६ गते बरहथवा नगरपालिका ७ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिए ।
घटनाकै राति मानपुरबाट चोरी भएको ना ४५ प २६८५ नम्बरको मोटरसाइकलको रहस्य पनि खुलेको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकल भोलिपल्ट असार ८ गते लालबन्दी नगरपालिका २ नवलपुरस्थित एक निर्माणाधीन घर अगाडि बेवारिसे अवस्थामा फेला परेको थियो ।
पक्राउ परेका रायले हत्या गरेपछि चोरी गरिएको सोही मोटरसाइकल प्रयोग गरी घटनास्थलबाट भागेको र पछि नवलपुरमा मोटरसाइकल छाडेको स्वीकार गरेका छन् । घटनाको एक दिनअघि रायले मोबाइल फोन किन्न बुबासँग पैसा माग्दा नपाएपछि परिवारमा विवाद भएको थियो ।
परिवारका सदस्यहरूले बेला बेलामा सुधार केन्द्रमा पठाइदिने धम्की दिने गरेकाले उनी उनीहरूप्रति रिसाएका थिए । सोही रिसका कारण परिवारका सदस्यलाई फसाउने उद्देश्यले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
रायविरुद्ध कर्तव्य ज्यान तथा चोरी मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।






