काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आफ्नो नाम तथा ब्यूरो प्रमुखको नाम दुरुपयोग गरी ठगी गर्ने उद्देश्यले पठाइएका भ्रामक इमेलप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै ब्यूरोले पछिल्लो समय केही व्यक्तिलाई आफ्नो नाम र ब्यूरो प्रमुखको नाम प्रयोग गरी कानुनी कारबाहीको डर देखाउने उद्देश्यले विभिन्न अनधिकृत इमेलमार्फत सन्देश पठाइएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिअनुसार, ‘यदि तत्काल जवाफ नदिए केन्द्रीय अनुसन्धान ब्यूरोले अदालतमा मुद्दा दायर गर्नेछ’ भन्ने आशयका सन्देश पठाएर ठगी गर्ने प्रयास भइरहेको छ । ब्यूरोले यस्ता इमेल वा पत्राचार आफूहरूबाट नपठाइएको स्पष्ट गर्दै त्यस्ता भ्रामक तथा अफवाहयुक्त सन्देशमा विश्वास नगर्न आग्रह गरेको छ ।
सीआईबीले यस प्रकारका गतिविधिबारे नेपाल प्रहरीको साइबर ब्यूरोमार्फत् आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । यस्ता गतिविधिमा सङ्लग्न व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने पनि ब्यूरोले जनाएको छ ।
ब्यूरोले आफ्नो आधिकारिक नाम र पदाधिकारीको नाम दुरुपयोग गरी ठगी गर्ने प्रयासप्रति सचेत रहन तथा शंकास्पद इमेल प्राप्त भएमा सम्बन्धित निकायलाई जानकारी गराउन सबै सरोकारवालासँग अनुरोध गरेको छ ।






