सप्तरी । सप्तरीको राजविराजस्थित कारागार कार्यालयको सुरक्षा गार्डमा ड्युटीका क्रममा एसएलआर राइफलबाट अचानक गोली चल्दा एक प्रहरी जवान घाइते भएका छन् । घटनामा संलग्न प्रहरी जवानलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार राति राजविराज नगरपालिका ६ स्थित कारागार कार्यालयको ‘ए’ ब्लकअन्तर्गत पोस्ट नं. ३ मा ड्युटीमा रहेका नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केबर धनुषा दरबन्दीका २२ वर्षीय प्रहरी जवान बिसोजित राय घाइते भएका हुन् ।
राति १० बजेदेखि २ बजेसम्मको ड्युटीमा रहेका राय शौचालयबाट पोस्टतर्फ फर्कने क्रममा पोस्ट नं.४ मा ड्युटीमा रहेका प्रहरी जवान २२ वर्षीय अजयकुमार महतोले बोकेको एसएलआर राइफलबाट अचानक एक राउन्ड गोली चलेको प्रहरीले जनाएको छ ।
गोली लागेर कम्मरमाथिको ढाडमा घाइते भएका रायलाई तत्काल गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचारका लागि लगिएको थियो । थप उपचारका लागि उनलाई सुनसरी जिल्लाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा रेफर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले घटनाको पुष्टि गर्दै घटना लगत्तै प्रहरी जवान महतोलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान थालिएको बताए । घाइते प्रहरी जवान रायको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए ।




