सर्लाही । लायन्स क्लब अफ लालबन्दी सेन्चुरीका नवनिर्वाचित अध्यक्ष विक्रम खड्काले कार्यकालको पहिलो दिनमै दुई जना असहाय तथा अशक्त व्यक्तिलाई ह्विलचेयर प्रदान गरेका छन् ।
क्लबको पद हस्तान्तरण कार्यक्रमसँगै आर्थिक वर्ष २०२६–२७ का लागि अध्यक्षको जिम्मेवारी सम्हालेका खड्काले लालबन्दी नगरपालिका १५ निवासी ४१ वर्षीय आईतबहादुर तोलाङ्गे तथा लालबन्दी नगरपालिका १० निवासी ५५ वर्षीय मङ्गलसिंह सिङ्दनलाई लायन्स क्लब अफ लालबन्दी सेन्चुरीको तर्फबाट ह्विलचेयर हस्तान्तरण गरेका हुन् ।
दैनिक जीवनयापन तथा हिँड्डुलमा सहजता पुगोस् भन्ने उद्देश्यले आवश्यकता र अवस्थाको मूल्याङ्कन गरी दुवै अशक्त व्यक्तिलाई ह्विलचेयर उपलब्ध गराइएको अध्यक्ष खड्काले जानकारी दिए । आर्थिक अवस्था समेत कमजोर रहेका उनीहरूका लागि उक्त सहयोग महत्वपूर्ण हुने विश्वास क्लबले व्यक्त गरेको छ ।
यस सेवामूलक अभियानलाई सफल बनाउन सहयोग गर्ने समाजसेवी व्यक्तित्वहरू तथा विशेष सहयोग पुर्याउने साकार शर्मा, गोपाल श्रेष्ठ, राजेश सिंह, मोहन राउतलगायत सम्पूर्ण सहयोगीप्रति अध्यक्ष खड्काले आभार व्यक्त गरेका छन् ।
आगामी दिनहरूमा पनि यस्ता मानवीय तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष खड्काले लायन्सको मूल उद्देश्य नै सेवा भएकाले क्लब समुदायको हितमा सदैव समर्पित रहने बताए ।
लायन्स क्लब अफ लालबन्दी सेन्चुरीले समाजका विपन्न, असहाय तथा आवश्यकता भएका व्यक्तिहरूको सहयोगमा आगामी दिनमा पनि सक्रिय भूमिका निर्वाह गर्दै जाने जनाएको छ ।




