रौतहट । रौतहटको गुजरा नगरपालिका ३ र ४ अन्तर्गत पर्ने धनसर–जंगलसहिया सडकखण्डमा सडकछेउ बाक्लो रूपमा फैलिएको झारका कारण सवारी आवागमन जोखिमपूर्ण बनेको छ । दृश्यता कम हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयवासीले तत्काल सरसफाइ गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
स्थानीयका अनुसार सडकको दुवैतर्फ बढेको घाँस–झारले मोड तथा साँघुरा स्थानमा विपरीत दिशाबाट आउने सवारी साधन देख्न कठिन भएको छ । यसले विशेष गरी मोटरसाइकल चालक, विद्यार्थी तथा पैदलयात्रीलाई बढी जोखिममा पारेको उनीहरूको भनाइ छ ।
समाजसेवी दीपेन्द्र नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत गुजरा नगरपालिकाका प्रमुख सन्तलाल चौधरी, उपप्रमुख रत्ना लामा तथा वडा नम्बर ३ र ४ का जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराउँदै सडकछेउको झार तत्काल हटाउन आग्रह गरेका छन् ।
उनले दैनिक सयौं सर्वसाधारणले प्रयोग गर्ने सडकको सरसफाइमा ढिलाइ नगर्न स्थानीय सरकारलाई अनुरोध गरेका छन् । उनका अनुसार यही सडकबाट विद्यालय जाने विद्यार्थी, किसान, व्यापारी तथा सर्वसाधारण नियमित रूपमा आवतजावत गर्ने गर्छन् । तर वर्षायामसँगै झार तीव्र रूपमा बढेपछि सडकको दृश्यता घटेको र दुर्घटनाको जोखिम बढेको छ ।
स्थानीयवासीले समयमै घाँस–झार व्यवस्थापन नगरे आगामी दिनमा दुर्घटनाका घटना बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् । उनीहरूले सडक निर्माणसँगै यसको नियमित मर्मत, सरसफाइ र सडक सुरक्षा व्यवस्थापनलाई पनि स्थानीय तहले प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
स्थानीयको भनाइमा सडकछेउको झारले सवारी दुर्घटनाको जोखिम बढाउनुका साथै आपत्कालीन सेवाको आवागमनमा समेत बाधा पुर्याउन सक्छ । त्यसैले नागरिकले पटक–पटक उठाउँदै आएको यस समस्यालाई तत्काल समाधान गरी सुरक्षित आवागमनको वातावरण बनाउन उनीहरूले सम्बन्धित निकायसँग माग गरेका छन् ।






