महोत्तरी । महोत्तरी प्रहरीले अवैध लागूऔषध गाँजा र एक ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानमा गरिएको सुरक्षा कारबाहीका क्रममा ४८७ किलो १०५ ग्राम गाँजा बरामद गरिएको प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिए ।
उनका अनुसार असार २० गते राति एकडारा गाउँपालिका १ भटौलियामा सशस्त्र प्रहरीको टोलीले ना ३ ख ६५९२ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा सुरुमा ४० किलो ३६० ग्राम गाँजा फेला पारेको थियो । ट्रकमा सवार मकवानपुरको कैलाश गाउँपालिका निवासी २१ वर्षीय विपन नेगी र २४ वर्षीय साधुराम थिङलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका व्यक्तिहरूसँगको प्रारम्भिक सोधपुछका क्रममा उक्त गाँजा धनकुटाको भेडेटारबाट ल्याइएको र महोत्तरीको रानी रत्वाडामा अन्य गाँजा झारिएको तथ्य खुलेको थियो । सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट गोलेकै कमाण्डमा विशेष टोली परिचालन गरिएको थियो ।
आइतबार बिहान महोत्तरी गाउँपालिका ४ स्थित सियाशरण पासवानको घरमा प्रहरीले खानतलासी गर्दा खाटमुनि साडीले छोपेर लुकाइएको अवस्थामा थप ४४६ किलो ७४५ ग्राम गाँजा फेला परेको हो । प्रहरी टोली पुग्नुअगावै पासवानकी श्रीमती लिलम देवी घरमा ताल्चा लगाएर फरार भएकी थिइन् । घरधनी सियाशरण पासवान भने हाल रोजगारीका क्रममा कतारमा रहेका छन् ।
बरामद गरिएको कुल ४८७ किलो १०५ ग्राम गाँजा र ट्रकसहित पक्राउ परेका दुवैजनालाई आवश्यक कानुनी कारबाहीका लागि महोत्तरी जिल्ला अदालतमा दाखिला गरिएको छ । प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजीका साथै थप अनुसन्धान कार्य जारी राखेको जनाएको छ ।




