जनकपुरधाम । यातायात व्यवस्था कार्यालय बारा परिसरभित्र एक सेवाग्राहीमाथि कार्यालय प्रमुखसहित कर्मचारीले कुटपिट गरेको देखिने भिडियो सार्वजनिक भएपछि मधेश प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले घटनाप्रति चासो देखाएको छ । सामाजिक सञ्जालमा भिडियो भाइरल भएसँगै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको मागसमेत उठिरहेको छ ।
भाइरल भिडियोमा कार्यालय प्रमुखको कार्यकक्षभित्र एक सेवाग्राही र कार्यालय प्रमुखबीच सामान्य संवाद भइरहेको देखिन्छ । सेवाग्राहीले हातमा रहेको कार्ड कार्यालय प्रमुखलाई देखाइरहेका बेला केहीबेर दुवै पक्षबीच कुराकानी हुन्छ । त्यसपछि सेवाग्राहीले खल्तीबाट मोबाइल निकाल्ने प्रयास गरेलगत्तै वातावरण तनावपूर्ण बनेको देखिन्छ ।
भिडियोअनुसार त्यसपछि कार्यालय प्रमुख आफ्नो कुर्सीबाट उठेर सेवाग्राहीतर्फ अघि बढ्छन् । सोही क्रममा ढोकानजिक रहेका एक कर्मचारीले सेवाग्राहीलाई धकेल्छन् भने कार्यालय प्रमुखले उनको घाँटी समातेको देखिन्छ । त्यसपछि अन्य कर्मचारी पनि घटनामा संलग्न भएको भिडियोमा देखिन्छ ।
घटनास्थलमै रहेका प्रहरीबीचबाट छुट्याउने प्रयास भएको देखिए पनि केही समयसम्म धकेलाधकेल जारी रहन्छ । त्यसक्रममा सेवाग्राहीको मोबाइलसमेत खोसिएको देखिन्छ भने अन्त्यतिर उनलाई धम्की दिएको जस्तो दृश्य भिडियोमा कैद छ ।
प्रारम्भिक जानकारीअनुसार यो घटना सन् २०२६ मार्च १७ अर्थात् गत फागुनको तेस्रो सातामा भएको हो । यद्यपि, भिडियो भने अहिले सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको हो ।
यातायात व्यवस्था कार्यालय बाराका निमित्त कार्यालय प्रमुख चिन्तन आचार्यले घटनामा संलग्न सेवाग्राही अरुण कुशवाहा रहेको बताएका छन् । उनका अनुसार कुशवाहाले आफू पत्रकार भएको परिचय दिँदै श्रीमती र सालीको चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी कामका लागि कार्यालय आएका थिए ।
आचार्यको दाबीअनुसार सेवाग्राहीले कर्मचारीसँग अभद्र व्यवहार गर्दै गालीगलौज र दबाब दिने प्रयास गरेपछि विवाद उत्पन्न भएको थियो । उनले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो घटनाको सम्पूर्ण दृश्य नभई सानो अंश मात्रै काटेर सार्वजनिक गरिएको दाबी गरेका छन् । साथै, घटना भएको केही समयपछि दुवै पक्षबीच आपसी सहमतिमा मिलापत्र भइसकेको उनको भनाइ छ ।
यसैबीच, घटनाबारे मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयले पनि चासो देखाएको छ । मन्त्रालयका निमित्त सचिव रञ्जित यादवले सामाजिक सञ्जालमार्फत भिडियो हेरेको जानकारी दिँदै यस विषयमा मन्त्रालयस्तरमा छलफल हुने बताएका छन् ।
चिन्तन आचार्य अधिकृत छैटौँ तहका कर्मचारी हुन् । उनी गत पुसमा तत्कालीन श्रम तथा यातायात मन्त्री मनिष सुमनको कार्यकालमा यातायात व्यवस्था कार्यालय जनकपुरबाट बारा कार्यालयमा निमित्त प्रमुखका रूपमा सरुवा भएका थिए । त्यसअघि बारा कार्यालयका प्रमुख रहेका अधिकृत सातौँ तहका अरबिन्द दासलाई रौतहटको गौरस्थित कार्यालयमा सरुवा गरिएको थियो ।
घटनापछि कार्यालयभित्र सेवाग्राहीको सुरक्षा, कर्मचारीको आचरण र सार्वजनिक सेवा प्रवाहको जिम्मेवारीबारे प्रश्न उठ्न थालेको छ । सामाजिक सञ्जालमा निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने मागसमेत बढिरहेको छ । उक्त घटनाबारे मन्त्रालयको थप अनुसन्धान र आधिकारिक निर्णय आउन भने बाँकी रहेको छ ।




