जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ९ को साकेतनगरस्थित पक्की सडक बर्खाको बीचमै ढल निर्माणका लागि भत्काइएपछि स्थानीयवासी, विद्यार्थी, बिरामी तथा सर्वसाधारणले दैनिक सास्ती भोग्नुपरेको छ । आर्थिक वर्षको अन्तिम समयमा सुरु गरिएको निर्माण कार्यले स्थानीयमा ‘असारे विकास’ प्रति पुन: असन्तुष्टि बढाएको छ ।
रामानन्द चोक नजिकको उक्त सडक केही समयअघिसम्म सहज आवतजावतका लागि प्रयोग हुँदै आएको थियो । तर ढल निकासको काम सुरु भएसँगै सडकको पक्की भाग उप्काइएपछि अहिले सडक हिलो, पानी र खाल्डाखुल्डीले भरिएको छ । वर्षाका कारण सडक झन् जोखिमपूर्ण बनेको छ भने दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनसमेत नियमित रूपमा फस्ने गरेका छन् ।
यस सडक हुँदै सञ्चालन हुने विद्यालयका विद्यार्थी सबैभन्दा बढी प्रभावित भएका छन् । साना बालबालिकालाई विद्यालय पुग्न निकै कठिन भएको छ । वर्षाको समयमा जुत्ता मोजा फुकालेर हिलो पार गर्नुपर्ने अवस्था रहेको छ भने कतिपय विद्यार्थी बाटोको अवस्थाकै कारण विद्यालय जान नसक्ने गरेका छन् । अभिभावकले बालबालिकालाई विद्यालयसम्म पुर्याउन अतिरिक्त सास्ती व्यहोर्नुपरेको छ ।
विद्यालय प्रशासनले वर्षायाममा सडक भत्काएर निर्माण कार्य गर्नु उचित नभएको जनाएको छ । उनीहरूको भनाइमा यस्ता काम हिउँदमा सम्पन्न गरिएको भए विद्यार्थी र शिक्षक दुवैले अनावश्यक दु:ख भोग्नुपर्ने थिएन । सडकको अवस्थाले पठनपाठन समेत प्रभावित भएको विद्यालयको भनाइ छ ।
उक्त सडकमा रहेको अस्पताल र निजी स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने बिरामीहरू पनि समस्यामा परेका छन् । विशेष गरी ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त बिरामीलाई अस्पतालसम्म पुग्न कठिन भएको स्थानीयको गुनासो छ । राम्रो अवस्थामा रहेको सडक भत्काएर फेरि निर्माण गर्ने शैलीले सरकारी स्रोतको दुरुपयोग भएको उनीहरूको आरोप छ ।
स्थानीयवासीले ढल निर्माण आवश्यक भएपनि त्यसका लागि नयाँ सडक भत्काउनु योजनाविहीन निर्णय भएको बताएका छन् । उनीहरूका अनुसार सडक निर्माणअघि नै ढलको संरचना बनाइनुपर्ने थियो । अहिले एउटै सडकमा पुन: बजेट खर्च गर्नु विकासभन्दा पनि सार्वजनिक धनको दोहोरो खर्च भएको उनीहरूको भनाइ छ ।
प्रदेश सरकारअन्तर्गतको पूर्वाधार मन्त्रालयले १६७ मिटर लम्बाइमा ढल निकास तथा सडक किनारमा चेम्बर निर्माणका लागि करिब ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्षको अन्तिमतिर ठेक्का प्रक्रिया सम्पन्न भएपछि निर्माण कम्पनीले सडक भत्काएर काम सुरु गरेको हो ।
स्थानीयका अनुसार निर्माण सुरु गर्नुअघि पर्याप्त सूचना वा समन्वय गरिएको थिएन । सडक किन भत्काइँदैछ, कामको दायरा के हो र निर्माणपछि सडक कहिले पुन: सञ्चालनमा आउँछ भन्ने विषयमा स्पष्ट जानकारी नदिइएको उनीहरूको गुनासो छ ।
स्थानीय तहले भने यो प्रदेश सरकारको योजना भएकाले आफूहरूको भूमिका सीमित रहेको जनाएको छ । मन्त्रालयबाट जानकारी प्राप्त भएअनुसार मात्रै काम अघि बढाइएको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।
स्थानीयवासीका अनुसार उक्त सडक निर्माणमा केही वर्षअघि मात्रै ठूलो रकम खर्च गरिएको थियो । अहिले पुन: त्यही सडक भत्काएर अर्को शीर्षकमा बजेट खर्च गरिनु योजनाको कमजोरी र सरकारी स्रोतको दोहोरो उपयोगको उदाहरण भएको उनीहरूको भनाइ छ ।
आर्थिक वर्षको अन्तिम समयमा हतारमा गरिने विकास निर्माण, कमजोर अनुगमन तथा तीन तहका सरकारबीच समन्वयको अभावका कारण यस्ता समस्या दोहोरिने गरेको स्थानीयको निष्कर्ष छ । उनीहरूले योजनाबद्ध विकास, प्रभावकारी अनुगमन र सार्वजनिक स्रोतको जिम्मेवार प्रयोगमा सरकारको ध्यान जानुपर्ने माग गरेका छन् ।






