बारा । बाराको निजगढ नगरपालिकामा दुई स्थानीयबीच भएको विवादले हिंसात्मक रूप लिँदा दाउ प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार दिउँसो करिब १२ बजे निजगढ नगरपालिका १ गोरु बजारका ५० वर्षीय धनबहादुर घिमिरे र ४० वर्षीय मानबहादुर योन्जनबीच सामान्य भनाभन भएको थियो ।
विवाद चर्किएपछि घिमिरेले मासु काट्न प्रयोग गरिने दाउले योन्जनमाथि प्रहार गरेका थिए । दाउरा प्रहारबाट योन्जनको टाउको र गर्दनमा गम्भीर चोट लागेको छ । घाइते उनको मध्यम सिटी अस्पताल, निजगढमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि आरोपित धनबहादुर घिमिरेलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय निजगढको हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको छ ।
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक दाताराम अधिकारीको नेतृत्वमा पाँच सदस्यीय टोली तथा अस्थायी प्रहरी पोस्ट सिगोलबाट असई मनोज तिवारीको नेतृत्वमा दुई सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।




