सिराहा । सिराहाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने पदार्थ र गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना ३२ वर्षीय पुरुष र एक जना १७ वर्षीय किशोर रहेका छन् ।
प्रहरीका अनुसार सिरहा नगरपालिका १४ माडरबाट कर्जन्हा नगरपालिका ४ निवासी ३२ वर्षीय दिपेश कुमार दासलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ३० मिलिग्राम सहित आइतबार दिउँसो पक्राउ गरिएको हो ।
प्रहरी चौकी खिरौनाबाट खटिएको टोलीले ज १२ प ४४५४ नम्बरको मोटरसाइकलमा सवार दासलाई जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरेको जनाएको छ ।
त्यसैगरी धनगढीमाई नगरपालिका १० धनगढी बजारबाट सोही नगरपालिका ११ नैनपुरका १७ वर्षीय किशोरलाई करिब ४५ ग्राम गाँजासहित आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । दुवै घटनाका सम्बन्धमा लागूऔषधको स्रोत तथा संलग्न अन्य व्यक्तिहरूबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।






