काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा तत्कालीन अध्यक्ष दिगम्बर झासहित तीन जना उच्च अधिकारीलाई दोषी ठहर भएका छन् ।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको हो ।
उनीहरूलाई ६ महिना कैद र ५० हजार रुपैयाँका दरले जरिबाना ठहर भएको छ । विशेष अदालतले उनीहरूलाई बिगो कायम गर्न नमिल्ने भन्दै जरिबानामात्रै ठहर गरेको हो ।
तत्कालीन अध्यक्ष झाले खरिद प्रक्रियामा बदनियत राखेको र अनिवार्य रूपमा गर्नुपर्ने पूर्वतयारी नगरी प्रक्रिया अगाडि बढाएको भन्दै उनलाई दोषी ठहर गरिएको हो । उनलाई ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
साथै, उच्च पदस्थ अधिकारी भएकाले भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप ६ महिना गरी कुल १ वर्ष कैद सजाय सुनाइएको छ । साथै, पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ ।
बस्नेतले मन्त्रीको हैसियतमा नीतिगत निर्देशन मात्र दिएको, खरिद प्रक्रियामा प्रत्यक्ष संलग्न नदेखिएको र व्यक्तिगत लाभ लिएको प्रमाण अभियोजन पक्षले पेश गर्न नसकेकाले उनलाई सफाइ दिएको भनेको छ ।
मुद्दा दायर गरिएका अन्य प्रतिवादीहरू पुरुषोत्तम खनाल, अच्युतानन्द मिश्रलगायत भेनराइज सोलुसन्सका एजेन्टहरूले पनि सफाइ पाएका छन् । अदालतले खरिद प्रक्रियामा गम्भीर त्रुटी भएको औंल्याएको छ ।
फैसलामा भनिएको छ, ‘सार्वजनिक खरिद ऐन र नियमावलीले तोकेको विस्तृत परियोजना प्रतिवेदन, लागत अनुमान र लाभ-लागत विश्लेषण नगरी सिधै खरिद प्रक्रिया सुरु गर्नु प्रथम दृष्टिमै बदनियतपूर्ण देखिन्छ ।’






