सर्लाही । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीले आइतबारदेखि ट्राफिक सचेतनामूलक कार्यक्रमअन्तर्गत लामो दूरीका सवारी चालक तथा सहचालकहरूको निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ ।
‘सडक अनुशासन पालना गरौं, सडक दुर्घटना न्यूनीकरण गरौं’ भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा पूर्व–पश्चिम राजमार्ग भएर आवतजावत गर्ने यात्रुवाहक तथा मालवाहक सवारीका चालक र सहचालकहरूको स्वास्थ्य परीक्षण गरिएको हो ।
कार्यक्रमअन्तर्गत बस, ट्रक, टाटा सुमो, म्याजिक, अटो लगायतका सवारीसाधनका चालकहरूको रक्तचाप, आँखा लगायतका आधारभूत स्वास्थ्य परीक्षण गरिएको थियो ।
सामान्यतया लाइसेन्स, सवारीका कागजात जाँच तथा ट्राफिक नियम उल्लंघनमा कारबाही गर्ने ट्राफिक प्रहरीले सडकमै स्वास्थ्य परीक्षण गरेपछि चालकहरूले कार्यक्रमको स्वागत गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख झलक शर्माका अनुसार आइतबार मात्रै करिब ६५ जना चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
साथै ‘चालकसँग २ मिनेट’ कार्यक्रममार्फत चालकहरूलाई सुरक्षित सवारी सञ्चालन, ट्राफिक नियमको पालना तथा दुर्घटना न्यूनीकरणका उपायबारे सचेतना पनि प्रदान गरिएको उनले बताए ।
प्रमुख शर्माका अनुसार चालकको कमजोर स्वास्थ्य अवस्था पनि सडक दुर्घटनाको एउटा प्रमुख कारण भएकाले यात्रुवाहक सवारीलाई राजमार्गमै रोकी स्वास्थ्य परीक्षण गरिएको हो ।
परीक्षणका क्रममा उच्च रक्तचाप तथा आँखाको दृष्टि कमजोर देखिएका चालकहरूलाई तत्काल उपचार तथा थप स्वास्थ्य परीक्षण गराउन सुझाव दिइएको उनले जानकारी दिए ।
उक्त निःशुल्क स्वास्थ्य शिविर मोडल अस्पताल, लालबन्दी र ग्लोबल आई केयर सेन्टरको सहयोगमा सञ्चालन गरिएको हो । ट्राफिक प्रहरीले यस अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।
अभियानअन्तर्गत विद्यालय, क्याम्पस, यातायात पार्क, बजार तथा सार्वजनिक स्थलहरूमा ट्राफिक सचेतनामूलक कार्यक्रम, सडक नाटक, पोस्टर प्रदर्शन, ट्राफिक नियमसम्बन्धी प्रशिक्षण, हेलमेट अनुगमन तथा ट्राफिक शिक्षा कक्षाहरू सञ्चालन गरिने प्रमुख शर्माले बताए ।
बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न चालकहरूको स्वास्थ्य अवस्थाप्रति सचेतना बढाउने र सुरक्षित सवारी सञ्चालनको संस्कृतिको विकास गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीले जनाएको छ ।






